Tuesday, May 22, 2012

थोत्रो स्टोभ, १२ सयको डेरा र सादा टिभी

काठमाडौं, जेठ ९ -२०५४ सालतिर एउटा गीत खुब हिट थियो।  nagriknewsकाठमाडौं, जेठ ९ -२०५४ सालतिर एउटा गीत खुब हिट थियो। 'गाउँले' फिल्मको 'गोली सिसाको मेरो, माया छैन रिसाको' रेडियो र टेलिभिजनको काउन्ट डाउनमा पहिलो स्थानबाट डगमगिएको थिएन। त्यो गीतमा बाँकटे हानेको जसरी नाच्ने
राजेश हमालसँग कम्मर हल्लाउने नव यौवनाले धेरै तन्नेरीलाई तानेकी थिइन्।

'तिम्रो गीत त सधैं एक नम्बरमा पर्छ। तिमी रातारात हिट भयौं,' प्रतिक्रिया दिनेलाई मुसुक्क हाँस्दै 'धन्यवाद' फर्काउँथिन् ती हिरोइन। र, मनमनै धिक्कार्थिन् आफ्नो गीत हेर्न टेलिभिजन पनि नभएकोमा। आफूले खेलेको त्यति चर्चित गीत घरमा हेर्न नापाएको झोकमा उनले सडकनाटकबाट पाएको १५ सय रुपियाँ खर्चेर सेकेन्ड ह्यान्ड सादा टिभी जोडिन्। तर टिभी भित्रियो, गीत 'काउन्ट डाउन'बाट बाहिरियो।
'तीतो सत्य' टेलिशृंखलाबाट लोकप्रिय बनेकी अभिनेत्री दीपाश्री निरौलाको कथा हो यो। हिरोइनको पहिचान बनाइसक्दा पनि उनी यो अभावबाट गुजिररएकी थिइन्।
मासिक १२ सय तिर्नुपर्ने बिजुलीबजारको डेरामा उनको रहर र दुःखको अन्तर्द्वन्द्व चल्थ्यो। सिरानमुनि राखेको अन्तर्वार्ताका कटिङ पल्टाउँदै उनी उक्त एककोठे डेरामा 'स्टार' हुने सपना देख्थिन्। दिदीले दिएको स्टोभमा दम दिँदै उनी घरबेटीको भाडा समयमै कसरी बुझाउने भन्ने तनाव लिन्थिन्। अभिनयको रहरलाई माया मार्दै बेलाबेला गाउँ फर्किने सुर कस्थिन्।
त्यही गाउँ, जहाँ उनले टेलिफिल्म खेल्ने अवसर पाएकी थिइन्। 'काठमाडौंबाट टेलिफिल्म सुटिङ गर्ने मान्छे विराटनगर आएका छन् रे,' यस्तो खबर उनको कानमा ठोक्कियो। चिनाजानकै स्थानीय रंगकर्मी मुकुन्द श्रेष्ठ सहायक निर्देशक रहेछन्। उनकै पहलमा अडिसन दिएपछि दीपालाई निर्देशक माधव सापकोटाले 'अग्नीपथ' टेलिफिल्ममा मुख्य भूमिकामै छाने।
त्यो यस्तो अनियन्त्रित खुसी थियो कि साथीहरुलाई सुनाउन जाँदा सिसाले उनको खुट्टै काट्यो। सोही टेलिफिल्ममा निर्वाह गरेको 'कजरी'को भूमिकाले उनलाई 'उत्कृष्ट नव प्रतिभा २०४८' को अभियानश्री पुरस्कार दिलायो।
विराटनगरकै दीपक आलोकले 'अग्नीपथ'बाट प्रभावित भई आफ्नो भिडियो फिल्म 'संगिनी'मा दीपालाई हिरोइन बनाए। धनकुटामा सुटिङ गर्न जाँदा अभिनेता सरोज खनाल, अभिनेत्री रूपा राना र सुटिङको तामझाम देखेपछि दीपाको मन काठमाडौंतिर सोझियो।
दीपा फिल्ममा जम्न चाहन्थिन्। परिवार बिहे गराउन चाहन्थ्यो। यो द्वन्द्वको समाधान गराउन उनका बाबुले निर्देशक दीपक आलोकलाई अनुरोध गरे, 'दुई चार फिल्म खेलाइदिनु। उसको रहर पुग्छ अनि घर फर्काइदिनू।' तर, उनी संघर्षमै रमाइन्।
काठमाडौंको अनामनगरमा दिदीको घर थियो। त्यतिबेला दीपालाई आर्थिक तनाव थिएन। तर, रातबिरातको फिल्मी दिनचर्या दिदीको संयुक्त परिवारमा पचेन। त्यसैले बिजुलीबजारको डेरामा एक्लै बस्न थालिन्।
भिडियो फिल्ममा यदाकदा काम पाउँथिन् तर पैसा हुँदैनथ्यो। त्यसैले दीपा रेडियो नेपालका कलाकार मदनदास श्रेष्ठकहाँ पुगिन्। 'दाइ मलाई खान लाउन पनि मुश्किल छ। नाटकमा काम दिनुपर्‍यो,' बिना हिच्किचाहट समस्या सुनाउँदै काम माग्ने दीपालाई देखेर सायद उनको मन पग्लियो। टेलिभिजन र भिडियो फिल्ममा छाएको अनुहार रेडियो नाटकमा काम गर्न तयार भएपछि मदनले पनि सिधै 'क' श्रेणीको कलाकार बनाइदिए। यो श्रेणीकाले एउटा नाटकमा काम गर्दा ३ सय रुपैयाँ पाउँथे।
सयौं कलाकार धाउने रेडियो नेपालमा दीपाको अवतरण विवादित बन्यो। कम्मरभन्दा निकैमाथि पाइन्ट लगाउने, कपाल पालेको, चुस्स परेको अनुहार र बिग्रिएको दाँतको एउटा 'नराम्रो' आकृति दीपा विरोधी खेमाको नेतृत्वमै लाग्यो। 'हामी 'ख' वर्गका कलाकारलाई उछिन्दै भर्खर आएकालाई सिधै 'क' वर्गमा राख्ने? निकाल्नुपर्छ त्यसलाई,' चर्को विरोध गर्ने व्यक्ति अरू कोही नभएर, दीपकराज गिरी नै थिए।
रेडियो नेपालमा मिरा राणा र सरिता भट्ट स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाउँथे। कार्यक्रमको १५ मिनेटको खण्डमा 'धनियाँ' बन्ने मौका पाइन् दीपाले। 'रामविलास' थिए दीपक। कार्यक्रम हिट भएपछि १५ मिनेट समय थपियो। कटु आलोचक तुरुन्तै 'मजबुत जोडी'मा परिवर्तन भइहाल्यो।
लोकप्रियताले जोसिइरहेको बेला एउटा समस्यामा परे उनीहरु। रामविलास यादव नाम गरेका सांसदको साली धनियाँ नामकी रहिछन्। उनीहरुको नाटक तिनै साली-भेनाको छेडछाडबारे हो भन्ने गलत हल्ला चलेपछि सांसदले कार्यक्रम बन्द गर्न लगाएछन्। उनीहरुले रेडियो प्रशासकसामु स्पष्टिकरण दिएर कार्यक्रमबाट हात धोए। ६ महिनापछि भने सोही कार्यक्रम नवजीवनले प्रायोजन गर्‍यो र उनीहरुले चार वर्ष चलाए।
अब दीपाले एक्लै संघर्ष गर्नु परेन। दीपक थपिए। दीपा राजेश हमालसँग नाच्थिन्। दीपक 'रेप सिन'मा खलनायकको आसेपासे भएर झुल्किन्थे। फिल्मले उनीहरुको रहर त पूरा गर्‍यो आवश्यकता टार्न सकेन।
संघर्षमा भौतारिने क्रममा एकताका मोहन निरौलाको 'परिवर्तन नेपाल'मा पुगिन् दीपा। आफ्नै थरकी चेली भेटेपछि 'महिलालाई अघि बढाउनु पर्छ' भन्दै निरौलाले दीपालाई संस्थाको अध्यक्ष बनाइदिए। काम, कर्तव्य र जिम्मेवारीको कुनै ज्ञान नभए पनि उनी थपक्क कुर्सीमा बसिन्। पत्रकारसँग कसरी बोल्ने, भाषण के भनेर गर्ने चिन्ता थिएन। 'स्त्रिरकप्ट' तयार पारिदिन्थे मोहन। 'समाज निर्माणको लागि नाटक र राष्ट्रियताको लागि हाम्रो अभियान' भन्न कहिल्यै नछुटाउनु भनेर मोहनले सिकाएको उनलाई अझ पनि कन्ठै छ।
'फिल्म केही होइन राष्ट्रियताको लागि काम गर्नु पर्छ' भन्दै घोकन्ते राष्ट्रवाद फैलाउन सडक नाटकसहित पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्यो दीपाको समूह। नाटक गरेको पैसा आउँदो रहेछ र मोहन राजसंस्थासँग निकट रहेछन् भन्ने उनले पछि मात्र चाल पाइन्। जिविकोपार्जन गर्न नाटक र स्टेज कार्यक्रम थिए तर फिल्मको हिरोइन बन्ने उनको चाहना पूरा भएको थिएन।
'दाइ म सडक नाटक गर्दैमा बुढी हुने भएँ। मलाई फिल्म खेलाइदिनु पर्‍यो,' बारम्बार ढिपी कसेपछि यादव खरेलको फिल्म 'नासो'मा काम दिलाइदिए निरौलाले।
त्यही समयमा स्टेज कार्यक्रम गर्न नारायणगढ पुगेकी थिइन् दीपा। नाच हेर्न आएका थिए निर्देशक दीपक श्रेष्ठ। 'तिम्रो नाच मनपर्‍यो। मैले बनाउन लागेको फिल्ममा तिमी राजेश हमालसँग नाच्नुपर्‍यो। कुरा गर्न गोपाल कर्माचार्यको अफिसमा आऊ,' तीन महिनापछि श्रेष्ठले फोनमा यसो भन्दा दीपालाई ठट्टाजस्तो लागेको थियो। तर, श्रेष्ठको प्रस्ताव सत्य मात्र ठहरिएन उनलाई चिनाउने गीत बन्यो 'गाउँले' फिल्मको 'गोली सिसाको'।
'गाउँले' पछि उनले 'सुरक्षा' फिल्ममा काम पाइन्। दीपाको 'स्टार' बन्ने सपना बुझेका एक सहकर्मीले सुझाए, 'तिमी चिरञ्जिवी बस्नेतलाई भेट। उनको फिल्म फ्याक्ट्रीमा छिर्न पायौ भने फिल्मको दुःख हुँदैन।'
उनले बस्नेतकहाँ काम त पाइन्। तर, हाफ पाइन्ट लगाएर दरबारमार्गमा नाच्नुपर्ने फिल्म उनलाई त्यति चित्त बुझेन। बस्नेतले बनाएको 'च'बाट उठेका केही फिल्म, मदन घिमिरेको 'घर संसार', कमलकृष्णको 'खरको छनो' र सागर पाण्डेको 'सुकुम्बासी' खेले पनि उनले सोचेजस्तो 'वाहवाही' बटुल्न सकिनन्। फिल्ममा एभरेज कलाकारिता देखाएर कहीँ नपुग्ने निष्कर्षका साथ दीपाले दीपकराजसँग नयाँ काम गर्ने योजना बनाइन्।
हास्य टेलिशृंखलामा सन्तोष पन्तको एकछत्र चलिरहेका बेला उनीहरुले अलिअलि जोगाएको पैसाले एउटा कमेडीको डमी तयार गरे। विभिन्न टेलिभिजनको दैलो चाहार्दा पनि त्यो कामलाई कसैले वास्ता गरेन। 'नेपाल टेलिभिजनका एक वरिष्ठले त यस्तो पनि सिरियल हुन्छ? भनेर क्यासेट नै फाल्दिए,' संघर्षमा कहिल्यै नरोएकी दीपाले आफ्नो कलाको अवमूल्यन भएको त्यो क्षण आँसु थाम्न सकिनन्। नेपाल टेलिभिजनमै रोइन्।
पछि प्रायोजकले त्यही डमी रुचाए। तत्कालिन बोर्ड सदस्य शम्भुजित बासकोटाको सहयोगमा 'तीतो सत्य'ले नेपाल टेलिभिजनमा प्रवेश पायो। २०६० भदौ ४ का दिन सोही टिमका सदस्य निर्मल शर्माको दरबार होटलमा सबैले सिरियल प्रसारण भएको हेरे। त्यस दिन पनि दीपा खुब रोइन्, काम सदर भएको खुसीमा। 'तीतो सत्य'को साप्ताहिक आम्दानी १ लाख ७५ हजार छ। दीपा भन्छिन्, 'एकपटक दुःखमा रोएँ, एक पटक खुशीमा। त्यसपछि भने अभिनय गर्दा मात्र रोएकी छु।'
फ्ल्याट र गाडीले सुविधासम्पन्न भए पनि उनले त्यो पुरानो स्टोभ र भाँडाकुँडा सुरक्षित राखेकी छिन्। 'तडकभडकमा बहकिन खोज्दा यिनै सामानले मलाई विगत सम्झाउँदै सचेत गराउँछ,' उनलाई लाग्छ, 'अहिलेको सुख पनि स्थायी नहुनसक्छ।'

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी