Thursday, September 27, 2012

‘गुणस्तरका लागि परीक्षा प्रणाली परिवर्तन आवश्यक’

गैँडाकोट । शैक्षिक गुणस्तरका लागि परीक्षा प्रणालीमा परिवर्तन गरिनुपर्ने आवश्यक रहेको पोखरा विश्वविद्यालयका उपकुलपति खगेन्द्रप्रसाद भट्टराईले बताउनुभएको छ । बिहीबारबाट गैँडाकोटमा सुरू भएको ‘विश्व परिवेशमा नेपालको शैक्षिक वातावरण’ विषयक दुई दिने कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालमा परीक्षाको मिति सार्ने परिपाटी नराम्रोसँग मौलाउँदै गएको छ’, उपकुलपति भट्टराईले भन्नुभयो, ‘विद्यार्थीहरु चाँडो परीक्षा सञ्चालनको माग गर्लान् भन्दा परीक्षा मिति सार्न माग गर्छन् ।’ शैक्षिक गुणस्तरका लागि शैक्षिक क्यालेण्डर लागू गरी समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नुपर्ने उहाँको भनाइ थियो ।
मुलुकको विकास शिक्षाको विकासविना सम्भव नभएको बताउँदै उहाँले भन्नुभयो, ‘समुदायले परिचालन गरेका, सरकारले नियन्त्रण गरेका र निजी क्षेत्रले लगानी गरेका शैक्षिक संस्थाहरुले मुलुकको शैक्षिक मेरुदण्डको काम गरेका छन्’, कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका प्राध्यापक भट्टराईले भन्नुभयो, ‘हामीले अझै गर्न बाँकी छ ।’
विश्वका मञ्चहरुमा हामीले नेपाललाई संसारको एक गरिब मुलुकका रुपमा चित्रण गर्नुपर्ने बाध्यता कायम रहेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । मुलुकमा शैक्षिक बेरोजगारी व्याप्त रहेको उहाँले बताउनुभयो ।
‘एउटा पीएचडी गरेको व्यक्ति न्यूरोडको पिपलबोटमा गएर जुत्ता पोलिस गरेर बस्नु कहाँसम्मको दुर्भाग्य हो ?’, उहाँले प्रश्न गर्नुभयो । शैक्षिक संस्थाहरु डिग्रीका सर्टिफिकेट उत्पादन गर्ने कारखाना भएको भन्दै उहाँले गुणस्तरीय जनशक्ति निर्माणको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल इन्जिनियरिङ एसोसिएसन भरतपुर च्याप्टरका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले शैक्षिक गुणस्तर खस्कँदै गएको प्रति दुःख व्यक्त गर्नुभयो । ‘पूवार्धारविना नै संस्था सञ्चालनको अनुमति दिँदा शैक्षिक गुणस्तर खस्किएको छ’, उहाँले भन्नुभयो । विद्यालय तथा कलेजले पनि विद्यार्थीको योग्यताभन्दा पनि पैसालाई मह¤व दिन थालेको उहाँको आरोप थियो ।
कार्यक्रममा प्राध्यापक डा. दीपक भट्टराई, बोष्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दलगायतले बोल्नुभएको थियो । कार्यशालमा ‘गुणस्तरीय इन्जिनियरिङ शिक्षा’, वायरलेस कम्युनिकेशन, व्यवस्थापन र नेतृत्व, व्यवस्थापन शिक्षा र यसको मह¤व विषयक फरकफरक कार्यपत्र प्रस्तुत गरिने छ ।
आज शुक्रबारसम्म चल्ने कार्यशालाको उद्घाटनसत्र आयोजक अक्सफोर्ड कलेज गैँडाकोटका प्राचार्य हरि भण्डारीको अध्यक्षतामा भएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी