Saturday, September 22, 2012

लोकाहा पुल सञ्चालनमा आउन एक वर्ष लाग्ने

कावासोती । अत्यधिक भार थेग्न नसकी भत्किएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकखण्डको लोकाहा पुल सञ्चालनमा आउन करिब एक वर्ष लाग्ने भएको छ ।
उक्त पुल मर्मतका लागि आवश्यक सामान विदेशबाट आयात गर्नुपर्ने र सामान आउनै लामो समय लाग्ने भएकाले मर्मत गरी सञ्चालनमा ल्याउन करिब एक वर्ष लाग्ने डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।
पुलमा प्रयोग भएका फलामका सामग्री नेपालमा नपाइने र विदेशबाट ल्याउनुपर्ने भएकाले पुललाई पूर्ववत् सञ्चालनमा ल्याउन समय लाग्ने भएको डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर अर्जुन थापाले बताउनुभयो ।
उहाँले पुल मर्मत गरी सञ्चालनमा ल्याउन करिब रु ४० लाख लागत लाग्नेसमेत जानकारी गराउनुभयो । मर्मतका लागि बजेटको अभाव नभएको तर निर्माण सामग्री आउनै लामो समय लाग्ने भएकाले मर्मतमा ढिलाइ हुने भएको उहाँको भनाइ छ ।
पुल मर्मत नहुञ्जेलसम्मका लागि वैकल्पिक डाइभर्सन निर्माण गरिएको उहाँले बताउनुभयो । तत्कालै डाइभर्सन निर्माण गर्नु परेकाले आगामी वर्षा अगाडिसम्मका लागिमात्र धान्ने गरी निर्माण गरिएकाले त्यसअगाडि नै सो पुल निर्माण गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
सो क्षेत्रमा आवतजावत गर्न हाल डिभिजन सडक कार्यालयले डाइभर्सन बनाएको भए पनि सो ठाउँको यात्रा जोखिमपूर्ण रहेको  छ । वर्षा भएमा सो बाटोबाट सवारीसाधन चल्न सक्ने अवस्था छैन ।
लामो समयदेखि जोखिममा रहेको पुल ओभरलोडकै कारण एक्कासि भासिएको थापाले बताउनुभयो । गत आइतबार बिहान उक्त पुलमा बस दुर्घटना भएको र सो बस त्यहीँ रोकिराखेको अवस्थामा पश्चिमबाट करिब ६० टन भएको मार्बल बोकेको भारतीय नम्बरको ट्रक र पूर्वबाट करिब १५÷२० टनको अर्काे ट्रक पुलको कमजोर भागमै आएर रोकेको अवस्थामा पुल भाँच्चिएको थापाको भनाइ छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी