Friday, November 2, 2012

पूर्ण बजेट नआउँदा शैक्षिक कार्यक्रम प्रभावित

विधुर ढकाल
भरतपुर । समयमै पूर्ण बजेट नआउँदा विकास निर्माणका कार्य त अगाडि बढ्न सकेका छैनन् नै शिक्षा क्षेत्रमा समेत यसले प्रभाव पारेको छ । जिल्लामा सञ्चालन भएका शैक्षिक कार्यक्रमलाई समेत यसले प्रभावित गरेको छ ।


सरकारले अध्यादेशमार्फत साउनमा एक तिहाई बजेट ल्याएको थियो । कात्तिकसम्मका लागि ल्याइएको बजेट कात्तिक नसकिँदै सकिएका कारण शैक्षिक कार्यक्रमसमेत प्रभावित भएको चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताउनुभयो । राजनीतिक खिचातानीका कारण समयमा नै बजेट प्रस्तुत नहुँदा राज्यको हरेक क्षेत्र प्रभावित हुँदै गएका छन् ।

चितवन जिल्लामा सञ्चालन भएको ‘पूर्ण साक्षरता अभियान’ र ‘निःशुल्क र अनिवार्य आधारभूत शिक्षा’ कार्यक्रमसमेत समयमै पूर्ण बजेट नआउँदा प्रभावित भएका छन् । बजेट अभावका कारण चालु रहेका कार्यक्रमसमेत प्रभावित हुन थालेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।

शिक्षा समितिमा केही बजेट भए पनि कार्यक्रम पूर्णरुपले सफल बनाउन रकम अपुग हुने शर्माले बताउनुभयो । ‘अहिले शिक्षा समितिमा भएको न्यून बजेटमा काम भइरहेको छ, समयमा नै बजेट नआए यो पनि प्रभावित हुन्छ’, उहाँले भन्नुभयो ।
छात्रवृत्ति प्रभावित

चितवन जिल्लामा आर्थिक विपन्नता र विभिन्न कारणले विद्यालय जान नसकेका विद्यार्थीहरुलाई विद्यालय प्रवेश गराउने लक्ष्य लिएर सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत विद्यालयबाहिर रहेका विपन्न विद्यार्थीलाई नगद पाँच सय रुपैयाँ छात्रवृत्ति र शैक्षिक सामग्री दिने गरिन्छ । शिक्षा समितिले यसका अलावा परिवारको आयआर्जन बढाउनलाई आर्थिक सहयोगसमेत गर्ने गर्दछ ।

जिल्लाका भण्डारा, पार्वतीपुर, शक्तिखोर, पिठुवा गाविसलाई ‘पूर्ण निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा क्षेत्र’ घोषणा गरिसकिएको छ । योसँगै दिव्यनगर गाविसलाई पनि पूर्ण निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा घोषणा गर्ने तयारी पूरा भएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।

‘जिल्लामा नियमित वितरण हुँदै आएको छात्रवृत्तिसमेत वितरण हुन सकेको छैन’, उहाँले भन्नुभयो । माध्यामिक तहसम्म अध्ययन गर्ने विद्यार्थीहरुमध्ये अपाङ्ग, दलित, जनजाति, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सरकारले वार्षिक छात्रवृत्ति प्रदान गर्ने गर्दछ । नियमित बजेट नआउँदा यसपटक उक्त रकमसमेत नआएको जिल्ला शिक्षा अधिकारी शर्माले बताउनुभयो ।

शैक्षिक कार्यक्रमसँगै भौतिक निर्माण तथा अन्य योजनाहरुसमेत यसपटक नआएको शर्माको भनाइ थियो । ‘जिल्लामा नियमित रुपमा आउने योजनाहरु समेत यसपटक आएका छैनन्’, उहाँले भन्नुभयो, ‘पूर्णरुपले बजेट नआउँदासम्म नयाँ योजनासमेत पर्ने सम्भावना छैन ।’

शैक्षिक सेवामा राउण्ड टेबल–१४
नारायणगढ । नारायणगढ राउण्ड टेबल–१४ ले यस वर्ष च्यारिटी शो गरी चितवनकै कुनै एक विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने भएको छ । नारायणगढ राउण्ड टेबल–१४ का टेबलर सेक्रेटरी विवेक शर्माले शैक्षिक क्षेत्रमा लगानी गरी सेवा पु¥याउने संस्थाको विश्वव्यापी नाराअनुसार यस वर्ष भौतिक पूर्वाधारको काम गर्ने योजना बनाएको बताउनुभयो ।

भौतिक अवस्था कमजोर रहेका विद्यालय छनौट गरी पूर्वाधार निर्माण गर्ने उहाँको भनाइ छ । यस संस्थाले कमजोर अवस्थाका विद्यालयमा शैक्षिक एवम् भौतिक सामग्री, विद्यालय पोसाक आदि वितरण गर्दै आएको छ ।

आफ्नो संस्थाको उद्देश्यअनुसार नारायणगढ राउण्ड टेबल–१४ ले चितवनको खैरहनीमा रहेको अन्तोदय जनजाति स्कुलमा कम्प्युटर, शैक्षिक एवम् खेलकुद सामग्री, औषधिलगायतका बस्तु सहयोग गरिसकेको शर्माले जानकारी दिनुभयो ।

संस्थाका सदस्यहरुबाट र विभिन्न कार्यक्रम गरेर पैसा संकलन गरी विद्यालयलाई सहयोग गर्ने गरेको उहाँको भनाइ छ । यसअघि संस्थाले हाजिरीजवाफ प्रतियोगिता र दुई पटक फिल्म प्रदर्शन गरिसकेको छ ।

त्यस्तै नारायणी किनारस्थित सुस्त मनःस्थिति कल्याण संस्थाका लागि आफ्ना विद्यार्थीहरु बोक्न रिक्सा प्रदान गरिएको छ । संस्थाले बालकुमारी उमाविमा स्वच्छ खानेपानीका लागि पानी शुद्धीकरण उपकरण प्रदान गरेको छ । संस्थाले हालसम्म आधादर्जन बढी विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको शर्माले बताउनुभयो ।

यस संस्थाले थोरैथोरै सहयोग धेरै विद्यालयमा भन्दा पनि एउटै विद्यालयमा धेरै सहयोग गर्ने योजना रहेको शर्माले बताउनुभयो । संस्थाको नारा ‘फ्रिडम थु्र एजुकेशन’ रहेको छ । ‘यसै नारालाई आधार मानी हामी शैक्षिक सेवामा निरन्तर लागिरहेका छौं’, सेक्रेटरी शर्माले भन्नुभयो ।

नारायणगढ राउण्ड टेबल–१४ को स्थापना सन् २००६ मा भएको हो । संस्थामा ११ जना सदस्य रहेका छन् । नेपालमा सन् १९९९ र विश्वमै यस संस्थाको स्थापना बेलायतमा सन् १९२७ मा लुइस मारचेसीले गरेका थिए । नेपालमा हाल सक्रिय रुपमा १९ वटा राउण्ड टेबल कार्यरत छन् ।

काठमाडौं, भैरहवा, विराटनगरलगायका स्थानमा यस संस्थाको स्थापना भइसकेको छ । संस्थाको सदस्यहरु नारायणगढका युवा व्यवसायीहरु रहेका छन् ।

यो पनि पढ्नुस : विद्यार्थीलाई ठग्ने विद्यालयसँग स्पष्टिकरण, नियम मिच्दै कक्षा चलाउँदै विद्यालय

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी