Sunday, December 23, 2012

ध्रुबेको छोरो सौराहामा हुर्कँदै

ध्रुबे हात्तीलाई नमारः माहुतेहरु, नेताहरु भन्छन् जसरी पनि मार्नु
सौराहा । माडी क्षेत्रमा आतङ्क मच्चाएकै कारण मार्न लागिएकाले चर्चामा रहेको ध्रुवे हात्तीको छोरो अहिले हात्ती प्रजनन् केन्द्र खोरसोर सौराहामा हुर्कदै छ । एक वर्षअघि आमा नारायणीकलीबाट जन्मिएको सो छावाको नाम अहिलेसम्म राखिएको छैन ।

छावाको स्याहारसुसार गर्दै आएका प्रजनन् केन्द्रका माउते सन्चलाल पाख्रिन प्रजनन् केन्द्रमा जन्मिएको छावा हुर्कदँै गएको बताउनुभयो । ‘सालीन छ’, पाख्रिनले त्यो छावाको स्वभावबारे भन्नुभयो, ‘बाबु ध्रुवेले  आतङ्क मच्चाएको  छ भनिन्छ तर बाबु र छोराको स्वभाव मिल्दैन ।’

तीन वर्षअघि निकुञ्ज सुरक्षाका लागि  बाघमारा पोष्टमा नारायणीकली रहेका बेला  उनीहरुबीच प्रेम चलेको थियो । त्यो बेला चार दिन जति ध्रुवेले नारायणीकलीसँगै समय बिताएको हात्तीसार सौराहाका प्रमुख रामेश्वर चौधरीले बताउनुभयो ।

‘राति–राति धु्रवे आउँथ्यो र उनीहरुको रतिक्रिया हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘यो क्रम तीन–चार दिनसम्म रयो ।’ नारायाणीकली गर्भिणी भएपछि प्रजनन् केन्द्रमा ल्याइएको थियो ।

हात्ती प्रजनन् केन्द्रमा रहेका अधिकांश ढोईहरु जङ्गली हात्तीबाटै गर्भिणी हुने गर्छन् । जसका कारण प्रजनन् केन्द्रका कर्मचारीहरुले जङ्गली हात्तीलाई आफ्नो ज्वाईंराजाका रुपमा मान्छन् ।

ध्रुवेजस्तै यो केन्द्रमा ज्वाईं राजा मानिने जङ्गली हात्तीहरुमा नाना पाटेकर र रोमानियो पनि छ । यसअघि रोनाल्डो खोरसोरमै इलेक्ट्रिक फेसमा परेर मरेको थियो ।

केन्द्रका माउते सुरेन्द्र चौधरी जङ्गली हात्तीकै कारण प्रजनन् केन्द्रमा रहेका ढोईहरुबाट राम्रा–राम्रा छावाहरु जन्मिरहेका जानकारी दिनुभयो । ‘जंगली हात्तीहरु छन् र यहाँको प्रजनन् केन्द्र राम्रोसँग चलेको छ’, उहाँले भन्नुभयो । प्रजनन् केन्द्रका कर्मचारीहरु जंगली हात्तीलाई ज्वाईंराजा मान्छन् ।

उनीहरु ज्वाईंराजा  धु्रवेलाई मार्ने भनिएकामा निकै दुःखी छन् । ‘धु्रवेलाई किन मार्नुप¥यो’, सुरेन्द्र भन्नुहुन्छ, ‘यही जंगली हात्तीले नै प्रजनन्मा सहयोग पु¥याएको छ ।’  

२०५० साल यता यो प्रजनन् केन्द्रमा मात्रै ३७ वटा हात्तीका बच्चा जम्मेका छन् । यही अवधिमा प्रकृति संरक्षणकोषका तीन र निजी क्षेत्रमा रहेका चार वटा हात्तीले पनि छावा पाएका छन् ।

यसरी जन्मिएका छावामध्ये दुई वटा घर पालुवा वीरेन्द्रगजका बच्चा हो भने अन्य सबै जंगली हात्तीका बच्चा भएको निकुञ्जले जनाएको छ । जसमध्ये धु्रवेबाट जन्मिएको यो नै पहिलो हो ।

केही वर्ष यता धु्रवेले निकुञ्ज र त्यस आसपासमा रहेका होटलका धेरै ढोर्इंहरुसँग सम्बन्ध बढाएको छ तर त्यसको आफ्नै बच्चा जन्मिएको भने नारायणीकलीको मात्रै हो । धु्रवे अहिले मात्तिएकाले पनि त्यसलाई ढोई दिएर सम्यम् बनाउनु पर्ने माग पनि गरिएको छ ।

सुरेन्द्रले भन्नुभयो, ‘धु्रवेजस्तै धेरै जंगली हात्ती हाम्रा गहना हुन् । प्रजनन्मार्फत तिनीहरुले धेरै नयाँ हात्ती पनि दिई रहेका छन् । मार्नभन्दा सम्यम् बनाउनेतर्फ लाग्नु जरुरी छ ।’

नेताले भने,‘ जसरी पनि मार्नु’
भरतपुरले । प्रशासनले जंगली हात्ति मार्न सक्रियता नदेखाएको भन्दै जिल्लामा क्रियाशिल राजनैतिक दलहरुले आपत्ति जनाएका छन् ।

माडीमा बोट दम्पतिको हत्या गर्ने धु्रवे नामकको हात्ती मार्ने प्रशासनले प्रतिबद्धता जनाएको भएपनि अहिलेसम्म कुनै प्रगति गर्न नसकेको भन्दै चितवनका पार्टी नेताहरुले हात्ति मार्ने वा नियन्त्रणमा लिने भन्ने निकुन्जको सोच प्रस्ट पार्न माग गरेका हुन् । जल्ला प्रशासन कार्यालय चितवनमा आइतबार बसेको सर्वदलीय बैठकले प्रशासनको यसबारे आफ्नो धारणा प्रस्ट पार्न माग गरे ।

जनतालाई झुक्याउने काम गर्न प्रशासनले पाउँदैन, आधिकारिक सही धारणा ल्याउन हामीले बैठकमा भन्यौ, नेपाल काग्रेस चितवनका सचिब जित नारायण श्रेष्ठले भन्नृभयो, प्रशासनले द्धेध चरीत्र देखाएको छ । साच्चै हात्ति नमार्ने हो भने, कसरी नियन्त्रण लिएर जनधनको क्षति हुन रोक्ने हो ।

त्यसबारे प्रशासन र निकुन्जले स्पष्ट पार्न दलहरुले माग गरेका थिए । धुब्रे नामकै हात्तिले, गएराती माडीमा आतंक मच्चाएपछि, दलहरुले प्रशासनको ध्यानार्कषण गराएका हुन् ।

ध्रुवेको आतंक कायमै

कसरा । माडीमा जंगली हात्ती ध्रुवेको आतंक अझै कायमै रहेको छ । ध्रुवे हात्तीले शनिबार राति माडीको कल्याणपुर–१ हरिनगरस्थित सुकुमबासी टोलमा प्रवेश गरी ५ वटा घर भत्काएको छ ।

स्थानीय बलराम राउत, छना राउत, सोना राउत, धर्मेन्द्र महतो र रुपलाल चौधरीको घर हात्तीले भत्काएको हो । हात्तीले मानवीय क्षती भने पु¥याएन ।

हात्तीमा जडान गरिएको रेडियोकलरले जनाएअनुसार सो हात्ती ध्रुवे नै भएको निकुञ्जले पुष्टि गरेको छ । सो स्थानमा केहीबेर बसी फेरि जंगल पसेको हात्ती आइतबार बिहान निकुञ्जको कसरा क्षेत्रमा देखापरेको थियो ।

हात्तीको खोजीका लागि निकुञ्जका कर्मचारी तथा सेनाको टोली परिचालित रहेको छन् । माडीमा जंगली हात्तीहरुले समयसमयमा गाउँ पसी स्थानीयको बालीनाली नष्ट गरेको भए पनि धु्रवे नामको हात्तीका कारण भने स्थानीय आतंंकित बनेका छन् ।

जंगली हात्ती ध्रुवेलाई मार्न नेपाली सेना र निकुञ्जका प्राविधिकको ७० जनाको टोलीले प्रयास गरिरहेको भएपनि अझै सफलता मिल्न सकेको छैन । धु्रवे हात्ती नियन्त्रणका लागि १२ वटा पोथी हात्तीसमेत परिचालन गरिएको छ ।

माडी गर्दी–९ का बुद्विराम बोट र उनकी श्रीमती जरिया बोटको सोही हात्तीले मंसीर ३० गते आक्रमण गरी ज्यान लिएपछि हात्ती मार्नुपर्ने स्थानीयको माग छ । निकुञ्ज प्रशासनले टोली परिचालन गरी ध्रुवेको खोजी गरिरहेको छ ।
 
चितवन पोष्टबाट साभार 
ध्रुवेसँग सम्वन्धित अन्य समाचार पढ्न तल क्लिक गर्नुहोस ।  
 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी